गुठी संस्थानले लालपुर्जा नदिँदा याज्ञवल्क्य माविको ६ करोड बजेट रोकिँदै

Appan News
२०८३ असोज १४, बुधबार १८:४७

अप्पन न्युज
जनकपुरधाम, असोज १४ :
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको जग्गाको लालपुर्जा नहुँदा संघीय सरकारबाट भौतिक संरचना निर्माणका लागि प्राप्त हुने भनिएको ६ करोड रुपैयाँ बजेट कार्यान्वयनमा समस्या देखिएको छ। जग्गा स्वामित्वसम्बन्धी कागजातको प्रक्रिया गुठी संस्थानमा अल्झिँदा विद्यालयको बजेटसमेत गुम्ने अवस्था आएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक सञ्जय झाले विद्यालयसँग जग्गाको लालपुर्जा नभए पनि जग्गासम्बन्धी पुराना अभिलेख तथा निर्णयहरू रहेको बताए। ती अभिलेखका आधारमा विद्यालयको नाममा जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन गुठी संस्थानलाई पटक–पटक आग्रह गरिए पनि आवश्यक प्रक्रिया अघि नबढेको उनको भनाइ छ।
पुराना अभिलेखमा विद्यालयलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने विषय उल्लेख रहेको र सोही आधारमा गुठी संस्थानले मालपोत कार्यालयसँग पत्राचारसमेत गरेको झाले बताए। मालपोत कार्यालयले माग गरेका कागजात तथा आवश्यक प्रक्रिया पूरा गर्न विद्यालयले पहल गरिरहेको भए पनि सम्बन्धित निकायबीचको प्रक्रियागत अल्झनका कारण समस्या समाधान हुन नसकेको उनले बताए।
लालपुर्जा नभएका कारण संघीय सरकारबाट प्राप्त हुने ६ करोड रुपैयाँको बजेटबाट निर्माण हुने भौतिक संरचनाको प्रक्रिया अघि बढ्न नसकेको प्रधानाध्यापक झाले बताए। अन्य विद्यालयमा निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको अवस्थामा याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको भने जग्गाको स्वामित्वसम्बन्धी कागजात नटुंगिँदा टेण्डरसमेत अघि बढ्न नसकेको उनले बताए।
प्रधानाध्यापक झाले गुठी संस्थानले विद्यालयमा अध्ययनरत ६५ जना बटुकलाई खाना उपलब्ध गराउने जिम्मेवारी लिए पनि त्यसका लागि पर्याप्त बजेट उपलब्ध नगराएको बताए। बटुकलाई आवश्यक र गुणस्तरीय खाना उपलब्ध गराउन पर्याप्त बजेट आवश्यक रहेको उनको भनाइ छ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले गुठी संस्थानको प्रक्रियागत ढिलाइका कारण विद्यालयले प्राप्त गर्ने बजेट कार्यान्वयन हुन नसक्ने अवस्था आउनु दुःखद भएको बताए। पुराना श्रेष्तामा उक्त जग्गाको स्वामित्व विद्यालयकै नाममा रहेको देखिए पनि गुठी संस्थानले लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन नसकेको उनको भनाइ छ।
शिक्षा क्षेत्रसँग जोडिएको विषयमा समेत गुठी संस्थानले आवश्यक सहजीकरण नगरेको साहले बताए। लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान हुन नसक्दा विद्यालयको भौतिक पूर्वाधार निर्माण प्रभावित भइरहेको उनले बताए।
याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले संघीय सरकारबाट प्राप्त हुने ६ करोड रुपैयाँ बजेट कार्यान्वयनका लागि आवश्यक जग्गा स्वामित्वसम्बन्धी प्रक्रिया तत्काल टुंग्याउन माग गरेको छ।