अप्पन न्युज
जनकपुरधाम, असोज ३० :
दसैँका बेला जनकपुरधामस्थित माता राजदेवी मन्दिर र राम मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सञ्चार सम्पर्क सहज बनाउन निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ । महावीर युवा कमिटीको पहलमा डिश मिडिया नेटवर्क लिमिटेडले दुवै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा वाइफाइ सेवा जडान गरेको हो ।
विजयादशमीका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन जनकपुरधाम आउने गर्छन् । यस क्रममा मन्दिर परिसर तथा आसपासमा भीड बढ्दा मोबाइल नेटवर्क व्यस्त हुने र सञ्चार सम्पर्कमा कठिनाइ हुने समस्या देखिने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै भक्तजनलाई इन्टरनेटमार्फत आफन्तसँग सम्पर्क गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क वाइफाइ सेवा सञ्चालन गरिएको हो ।
डिशहोमका जनकपुर जोन इन्चार्ज निरञ्जनकुमार साहका अनुसार दसैँका बेला मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई सञ्चार सम्पर्कमा सहजता प्रदान गर्ने उद्देश्यले सेवा जडान गरिएको हो ।
यसैगरी, दसैँ मेला व्यवस्थापन तथा शान्ति सुरक्षासम्बन्धी कार्यलाई प्रभावकारी बनाउन महावीर युवा कमिटीको कार्यालयमा समेत उच्च गतिको इन्टरनेट सेवा जडान गरिएको छ । यसबाट मेला व्यवस्थापन, स्वयंसेवक परिचालन तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ ।
दसैँ मेला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन कमिटीले विभिन्न सरोकारवाला पक्षसँग छलफल तथा समन्वयलाई समेत अघि बढाएको छ । सर्वपक्षीय छलफलका क्रममा मेला व्यवस्थापनका लागि आवश्यक सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइएको छ । मेला अवधिमा श्रद्धालु भक्तजनको सुविधा, शान्ति सुरक्षा र भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
जनकपुरधामको दसैँ मेला धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण उत्सव हो । यस अवधिमा मन्दिर परिसरमा हुने भीडभाडलाई ध्यानमा राख्दै भक्तजनको सुविधाका लागि सञ्चार सेवा विस्तारसँगै मेला व्यवस्थापनका कामलाई पनि प्राथमिकता दिइएको छ ।
महावीर युवा कमिटीको पहलमा निःशुल्क वाइफाइ



तपाईको प्रतिक्रिया !