अप्पन न्युज
जनकपुरधाम, कात्तिक ८ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयताको विरोधी नभई यसलाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउन चाहेको बताएका छन् ।
रास्वपाको जनकपुरधाम उपमहानगरपालिका–२ वडा समितिले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद झाले रास्वपालाई संघीयताविरोधीका रूपमा प्रचार गरिए पनि त्यसमा सत्यता नरहेको दाबी गरे ।
उनले संघीयताको संरचना र कार्यप्रणालीलाई थप व्यवस्थित बनाउँदै कार्यसम्पादन प्रभावकारी बनाउनु पार्टीको उद्देश्य रहेको बताए । प्रदेशसभालाई प्रदेश परिषद्का रूपमा अगाडि बढाउने र त्यसबाट कामकारबाहीमा तदारुकता ल्याउनुका साथै विभिन्न तहबीच समन्वय बढाउने रास्वपाको सोच रहेको उनको भनाइ थियो ।
संघीयतासम्बन्धी पार्टीको अवधारणा र दृष्टिकोणबारे जनतालाई स्पष्ट पार्न उनले नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । रास्वपाको उद्देश्य संघीयताको विरोध गर्नु नभई यसको संरचना र कार्यप्रणालीलाई सुधार गरी थप प्रभावकारी बनाउनु रहेको उनले स्पष्ट पारे ।
रास्वपा संघीयताको विरोधी होइन, थप व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छ : सांसद झा



तपाईको प्रतिक्रिया !