अप्पन न्युज
जनकपुरधाम, असोज १६ :
जनकपुरधाम उपमहानगरपालिकाभित्र सरसफाइ, सडकबत्ती, सडक तथा नाला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पर्यटकमैत्री वातावरण निर्माणमा तत्काल सुधार गर्न माग गरिएको छ ।
जनसरोकार अभियानले शुक्रबार नगर प्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै धार्मिक तथा ऐतिहासिक नगरीको पहिचानअनुसार नगरको आधारभूत व्यवस्थापन सुधार गर्न माग गरेको हो । अभियानका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव कौशल्या कुशवाहासहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
अभियानले नगरका विभिन्न स्थानमा नियमित फोहोर व्यवस्थापन हुन नसकेको भन्दै दीर्घकालीन फोहोर व्यवस्थापन योजना कार्यान्वयन गर्न माग गरेको छ । जानकी मन्दिर तथा आसपासका क्षेत्रमा विशेष सरसफाइको व्यवस्था गर्नुपर्ने उसको भनाइ छ ।
त्यस्तै, बन्द तथा जीर्ण सडकबत्ती मर्मत गरी सञ्चालनमा ल्याउन, भत्किएका सडक तथा सडकपेटी मर्मत गर्न र खुला तथा जीर्ण चेम्बर तत्काल व्यवस्थापन गर्न माग गरिएको छ । सडक, नाला, चेम्बर र फुटपाथको नियमित निरीक्षण गरी जोखिमयुक्त स्थान तत्काल मर्मत गर्न पनि अभियानले आग्रह गरेको छ ।
नगरभित्र अटो रिक्सा सञ्चालनलाई व्यवस्थित गर्दै पार्किङ र रुट व्यवस्थापन गर्न तथा विगतमा भएका सर्वपक्षीय निर्णय कार्यान्वयन गर्नसमेत माग गरिएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको जनकपुरधाममा सरसफाइ, पूर्वाधार र ट्राफिक व्यवस्थापन सुधार गरी पर्यटक तथा तीर्थयात्रीका लागि सहज र सुरक्षित वातावरण बनाउनुपर्ने अध्यक्ष महासेठले बताए । अभियानले जनकपुरधामलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री धार्मिक नगरीका रूपमा विकास गर्न उपमहानगरपालिकासँग आग्रह गरेको छ ।
जनकपुरधामको आधारभूत व्यवस्थापन सुधार गर्न जन सरोकार अभियानको माग



तपाईको प्रतिक्रिया !