अप्पन न्युज
जनकपुरधाम, असोज ३० :
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजन प्रक्रिया शीघ्र अघि बढाउन संघ सरकारलाई दबाब दिने बताएका छन् ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले दशैँ, तिहार र छठ पर्वपछि प्रहरी समायोजनका लागि संघ सरकारसँग थप पहल गर्ने बताएका हुन् ।
संविधानले प्रदेशलाई दिएको प्रहरीसम्बन्धी अधिकार कार्यान्वयन गर्न प्रहरी समायोजन अपरिहार्य रहेको उल्लेख गर्दै उनले हालै विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले पनि यस विषयलाई प्राथमिकताका साथ उठाएको बताए । प्रदेशमा शान्ति सुरक्षा कायम गर्न तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन संवैधानिक व्यवस्थाअनुसार प्रहरी समायोजन हुनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सडक सुरक्षा व्यवस्थापन गर्ने तथा विपद्का बेला उद्धार र राहतका कार्यमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए । नेपाल–भारत खुला सीमाका कारण हुन सक्ने सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध हातहतियार तस्करी र मानव बेचबिखन नियन्त्रणमा प्रहरीले विशेष सतर्कता अपनाउनुपर्ने उनले उल्लेख गरे ।
समयसँगै अपराधको स्वरूप परिवर्तन भइरहेकाले प्रहरीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन आवश्यक रहेको बताउँदै मुख्यमन्त्री यादवले प्रहरीको मनोबल उच्च राख्न प्रदेश सरकारले सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले कानुनी शासनको प्रत्याभूति दिलाउन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीका भौतिक पूर्वाधार निर्माण तथा स्रोतसाधन व्यवस्थापनका लागि सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनताको घरदैलोसम्म पहुँच रहेको नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले सामाजिक सञ्जालको दुरुपयोगमार्फत सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न प्रदेशभर ‘अपरेसन साइबर अपराध नियन्त्रण’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
प्रहरी दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । मधेश प्रदेशभर उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
त्यसैगरी, महिला हिंसाविरुद्ध सचेतनामूलक टिकटक भिडियो निर्माणमा प्रथम भएका सप्तरीका कलाकार जुगेश्वर यादव र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका रौतहटको मौलापुरमा कार्यरत प्रहरी निरीक्षक भरत केसीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
समारोहमा अमर प्रहरीका परिवारजनका साथै ट्राफिक व्यवस्थापन र सामुदायिक प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्याउने प्रहरी कर्मचारीलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा मुख्यमन्त्री यादवले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका कार्यवाहक प्रमुख परमेश्वर साह, मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाललगायतले शान्ति सुरक्षा र प्रहरीको भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए ।



तपाईको प्रतिक्रिया !