अप्पन न्युज
जनकपुरधाम, असोज २९ :
जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. अमितकुमार यादव नियुक्त भएका छन् । त्यस्तै, अस्पतालको व्यवस्थापकको जिम्मेवारी नेत्र अधिकृत रुदलप्रसाद साहलाई दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित अस्पतालको व्यवस्थापन समितिले असोज २८ गते गरेको निर्णयअनुसार डा. यादवलाई मेडिकल डाइरेक्टर र साहलाई कायममुकायम व्यवस्थापकको जिम्मेवारी दिइएको हो । यसअघि मेडिकल डाइरेक्टरको जिम्मेवारी डा. आशीष बोहराले र व्यवस्थापकको जिम्मेवारी दिपेन्द्र सिंहले सम्हाल्दै आएका थिए ।
व्यवस्थापन समितिका संयोजक रघुबीर रायले समितिको निर्णयअनुसार दुवै जनालाई नयाँ जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पङ्कज महतोले नवनियुक्त दुवै पदाधिकारीलाई रेडक्रसका आदर्श तथा सिद्धान्त र अस्पतालका प्रचलित नियम–विनियमअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । उनीहरूको नियुक्तिसँगै अस्पतालको चिकित्सकीय सेवा र प्रशासनिक व्यवस्थापन थप प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय हुने विश्वाससमेत महतोले व्यक्त गरेका छन् ।
यसअघि डा. यादव सोही अस्पतालमा नेत्र चिकित्सकका रूपमा कार्यरत थिए भने साह नेत्र अधिकृत तथा सूचना अधिकारीको जिम्मेवारीमा थिए ।
श्री जानकी आँखा अस्पताल नेपाल रेडक्रस सोसाइटीको स्वामित्वमा रहेको स्वास्थ्य संस्था हाे।
जानकी आँखा अस्पतालको नेतृत्वमा फेरबदल



तपाईको प्रतिक्रिया !