अप्पन न्युज
जनकपुरधाम, कात्तिक ८ :
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइँदैछ। यस अवसरमा महोत्तरीको रतौलीबाट प्रत्येक वर्षझैँ यस वर्ष पनि १०८ पाहुर जनकपुरधामस्थित जानकी मन्दिरमा ल्याइएको छ।
महोत्तरीको रतौलीस्थित स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट ल्याइएको पाहुरबाट भगवान् सीतारामको चुमाओन गर्ने परम्परा छ। करिब १४२ वर्षदेखि निरन्तर चल्दै आएको यस परम्परालाई आगामी पुस्तासम्म कायम राख्ने प्रतिबद्धता नवीन ठाकुरले व्यक्त गरे।
पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारीलगायतका सामग्रीका साथै भगवान् राम र माता जानकीका लागि कपडासमेत ल्याइएको छ।
कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा भजनकीर्तनसहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। यस अवसरमा हास्यपरिहासका कार्यक्रमसमेत हुँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए।
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको नवविवाहित दम्पतीका लागि पनि विशेष महत्त्व छ। यस दिन बेहुलाको ससुरालीबाट पाहुर ल्याउने र त्यसैबाट बेहुलाको चुमाओन गर्ने परम्परा छ। चुमाओनपछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुर्वाक्षत दिइन्छ। त्यसपछि बेहुलाको घरमा भोजभतेर आयोजना गर्ने चलन छ।
यस पर्वमा पान र मखान गाउँघरमा बाँड्ने परम्परासमेत रहेको छ। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको कोजाग्रत पूर्णिमा मिथिलाञ्चलमा पारिवारिक भेटघाट, आपसी सद्भाव र उत्सवका रूपमा मनाइन्छ।
रतौलीबाट जानकी मन्दिरमा ल्याइयो १०८ पाहुर



तपाईको प्रतिक्रिया !