पान मधेश प्रदेशको सम्मेलनबाट १४ निर्णय

Appan News
२०८३ असोज १९, सोमबार २२:४४

अप्पन न्युज
जनकपुरधाम, असोज १९ :
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) मधेश प्रदेशको प्रादेशिक शिखर सम्मेलनले विद्यालयका जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन पहल गर्नेदेखि प्रधानाध्यापकको पेशागत क्षमता अभिवृद्धि, डिजिटल स्रोत पोर्टल निर्माण, विज्ञान प्रदर्शनी र संगठन विस्तारसम्मका १४ वटा निर्णय गरेको छ ।
असोज १७ र १८ गते वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सम्पन्न सम्मेलनको बन्द सत्रले विद्यालय नेतृत्व, संस्थागत विकास, संगठन सुदृढीकरण र शैक्षिक नवप्रवर्तनसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय गरेको पान मधेश प्रदेशले जनाएको छ ।
सम्मेलनले सरकारी वा सार्वजनिक जग्गामा सञ्चालित तर जग्गाधनी प्रमाणपुर्जा नभएका विद्यालयलाई आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ ।
त्यस्तै पानको तेस्रो राष्ट्रिय सभा जनकपुरधाममा आयोजना गर्न पहल गर्ने तथा पान मधेश प्रदेशका तत्कालीन अध्यक्ष सञ्जयकुमार झालाई केन्द्रीय पदाधिकारीका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
बन्द सत्रले प्रदेशस्तरीय पुरस्कार, मूल्याङ्कन तथा सम्मान निर्देशिका २०८३ अनुमोदन गर्नुका साथै विधान संशोधनका लागि स्थानीय, जिल्ला र प्रदेश तहबाट सुझाव संकलन गरी केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।
प्रधानाध्यापकका लागि शैक्षिक सामग्री, नेतृत्वसम्बन्धी स्रोत तथा अनुभव आदानप्रदानको सुविधा उपलब्ध गराउन ‘पान मधेश डिजिटल स्रोत पोर्टल’ निर्माण गर्ने, प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा डिजिटल मेला आयोजना गर्ने र प्रधानाध्यापकको नेतृत्व तथा व्यवस्थापन क्षमता विकासका लागि नियमित कार्यशाला सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
यसैगरी प्रदेश कार्यसमिति पुनर्गठन, संगठनलाई स्थानीय तहसम्म विस्तार, सदस्यता अभिलेख अद्यावधिक तथा प्रमाणीकरण, विद्यालय पूर्वाधार विकासमा सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य र विदेशी प्रधानाध्यापक संघ–संस्थासँग अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
सम्मेलनले पारित निर्णय कार्यान्वयनका लागि तीनै तहका सरकार, शिक्षा क्षेत्रका निकाय तथा अन्य सरोकारवालासँग समन्वय गर्ने र निर्णयको प्रगति नियमित समीक्षा गर्ने जनाएको छ ।