अप्पन न्युज
जनकपुरधाम, कात्तिक १५ :
मधेस प्रदेशमा जलवायु वित्त जुटाउने र त्यसको प्रभावकारी उपयोग गर्ने विषयमा तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
जलवायु परिवर्तनको जोखिम बढ्दै गएको मधेस प्रदेशमा जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
जलवायु संरक्षण तथा वातावरणीय क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था र सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा सञ्चालन भएको तालिममा जलवायु परिवर्तनका कारण, त्यसका प्रभाव, जोखिम न्यूनीकरणका उपाय तथा जलवायु अनुकूलनका कार्यक्रमका लागि वित्तीय स्रोत जुटाउने प्रक्रियाबारे जानकारी दिइने आयोजकले जनाएको छ।

तालिमको उद्घाटन गर्दै मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव राजीवकुमार झाले नेपालमा जलवायु परिवर्तनको असर बढ्दै गएको बताए। भौगोलिक तथा वातावरणीय अवस्थाका कारण मधेस प्रदेश थप जोखिममा रहेको उल्लेख गर्दै उनले यसको प्रभाव न्यूनीकरणका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्थाको सक्रिय भूमिका आवश्यक रहेको बताए।
जलवायु परिवर्तनका चुनौती सामना गर्न कार्यक्रम निर्माण गरेर मात्र नपुग्ने भन्दै झाले त्यसका लागि आवश्यक आर्थिक स्रोतसमेत जुटाउनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय दातृ निकायबाट जलवायु संरक्षण तथा अनुकूलनका कार्यक्रमका लागि वित्तीय सहयोग प्राप्त गर्ने प्रक्रिया र विधिबारे पनि तालिममा छलफल हुने उनले जानकारी दिए।
कार्यक्रममा आइयुसीएनका कार्यक्रम प्रबन्धक अमित पौडेलले मधेस प्रदेश बर्सेनि दोहोरिने बाढी, पछिल्लो समय देखिएको खडेरी तथा भूमिगत पानीको सतह घट्दै जाने समस्याबाट प्रभावित भइरहेको बताए।
नेपाल जलवायु परिवर्तनको जोखिमका हिसाबले विश्वमै छैटौँ स्थानमा रहेको उल्लेख गर्दै उनले मधेस प्रदेशमा यसको प्रभाव अझ गम्भीर हुन सक्ने बताए। जलवायु परिवर्तनका असर बुझ्ने, जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरमा उपलब्ध जलवायु वित्तमा पहुँच स्थापित गर्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
तीन दिनसम्म सञ्चालन हुने तालिममा डा. विष्णुहरि पौडेल, प्रेमकुमार पोखरेल, निलम शर्मा रिजाल र उत्तम गुनीलगायत विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया !