जनकपुधाम उद्योग वाणिज्य संघको आँखा शिविरबाट १५० भन्दा बढी लाभान्वित

Appan News
२०८३ कार्तिक १७, सोमबार १९:५५

अप्पन न्युज
जनकपुरधाम, कात्तिक १६ :
जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार सम्पन्न निःशुल्क आँखा शिविरबाट १५० भन्दा बढीले सेवा लिएका छन् ।
जनकपुरधामस्थित सुनैना आई एन्ड ईएनटी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा उद्योगी, व्यवसायी तथा नागरिक समाजका व्यक्तिहरूले आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा लिएका हुन् ।
शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रञ्जना ठाकुर, वरिष्ठ अप्टोमेट्रिस्ट सुवास यादव र अप्टोमेट्रिस्ट रूपेशकुमार यादवले सेवा प्रदान गरेका थिए । शिविरमा आँखाको सामान्य परीक्षणदेखि मोतियाबिन्दुलगायत विभिन्न आँखासम्बन्धी रोगको परीक्षण गरिएको आयोजकले जनाएको छ ।
शिविरमा सहभागीलाई निःशुल्क आँखा परीक्षण, आँखासम्बन्धी औषधि वितरण, चस्मा परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले उद्योगी, व्यवसायी तथा नागरिक समाजका व्यक्तिहरूलाई लक्षित गरी स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परीक्षण र परामर्श सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य रहेको जानकारी दिए ।
संघले आगामी दिनमा पनि उद्योगी, व्यवसायी तथा नागरिक समाजलाई लक्षित गरी अन्य रोगको परीक्षणसहित विभिन्न स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।