धनुषाको बेंगाडावरमा कात्तिक २४ देखि मिथिला महोत्सव आयोजना हुँदै

Appan News
२०८३ कार्तिक १९, बुधबार ००:०७

अप्पन न्युज
जनकपुरधाम, कात्तिक १७ :
धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा आगामी कात्तिक २४ गतेदेखि मिथिला महोत्सव आयोजना हुने भएको छ । बेंगाडावर युवा क्लबको आयोजनामा हुन लागेको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि तथा व्यापारिक प्रदर्शनी समावेश गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा चर्चित गायिकाहरू रचना रिमाल र एलिना चौहानका साथै गायक गंगु क्षेत्री, गायिका प्रीति पासवानलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । त्यस्तै, रोटेटिङ लक्की ड्र, विभिन्न परिकारका फुड स्टल तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत महोत्सवका मुख्य आकर्षण रहनेछन् ।
स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धनका लागि विभिन्न व्यापारिक स्टल राख्ने तयारी भइरहेको बेंगाडावर युवा क्लबका अध्यक्ष राजु लामाले जानकारी दिए । उनका अनुसार महोत्सवलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक उत्सवका रूपमा विकास गर्दै स्थानीय प्रतिभा, व्यवसाय र कला संस्कृतिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
मिथिला नगरपालिका–९ का वडाध्यक्ष दीपक जंग थापाले महोत्सवले स्थानीय क्षेत्रको पहिचान स्थापित गर्नुका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सव सफल बनाउन वडा कार्यालय र स्थानीयस्तरबाट आवश्यक समन्वय तथा सहयोग गरिने उनले बताए ।
आयोजकले महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन स्थानीयवासी तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ ।