बिल बिजक नहेरी सामान उठाएर लगेको शिव पार्वती ट्रेडर्स सञ्चालकको गुनासो

Appan News
२०८३ असोज ५, सोमबार २०:२८

अप्पन न्युज
जनकपुरधाम, असोज ५ : 
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित शिव पार्वती ट्रेडर्सका सञ्चालक शिवशंकर साहले आफ्नो गोदाममा रहेको सामानको बिल बिजक नहेरी सशस्त्र प्रहरीले उठाएर लगेको गुनासो गरेका छन्।
साहका अनुसार गोदाममा रहेका अधिकांश सामानको खरिद बिल तथा आवश्यक कागजात सुरक्षित थिए। तर, प्रशासनले बिल बिजक हेर्नसमेत नमानेको र ‘जे हेर्नुछ, भन्सारमा गएर हेर्नुहोस्’ भन्दै सामान उठाएर लगेको उनले आरोप लगाए।
उनका अनुसार गोदाममा नेपाली उत्पादनको वाटरमेलन सीडका करिब २०३ बोरा, पार्लेजी बिस्कुटलगायतका सामान थिए। आफू पार्लेजी बिस्कुटको आधिकारिक डिलरसमेत रहेको भन्दै उनले ती सामानको बिल बिजक व्यवस्थित रूपमा रहेको दाबी गरे।
‘मसँग सबै सामानको बिल बिजक छ। कम्तीमा बिल बिजक हेर्नुस् भनेर पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ भएन,’ साहले भने, ‘हाम्रो सामान अवैध हो भने कारबाही गर्नुस्, तर बिल बिजक भएको सामानलाई समेत यसरी उठाएर लैजानु ज्यादती भयो।’
साहले आफ्नो फर्मले नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर तिर्दै आएको दाबी गरे। उनका अनुसार शिव पार्वती ट्रेडर्सको भ्याट नम्बर ६०२८१७९२८ रहेको छ र फर्मको कारोबार तथा कर विवरण सरकारी प्रणालीमा रहेको छ।
साहले आफ्नो फर्मले आयात–निर्यातको कारोबारसमेत गर्दै आएको बताए। चीनबाट विभिन्न सामान आयात गर्नुका साथै काजु तथा बदामसमेत विदेशबाट आयात गर्ने गरेको उनको भनाइ छ।
उनका अनुसार गोदाममा प्रशासनको टोली पुग्दा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। करिब डेढदेखि दुई सय सुरक्षाकर्मी परिचालन हुँदा सडकमा समेत जाम भएको उनले बताए।
यसअघि आइतबार धनुषामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले करिब १८ लाख रुपैयाँ बराबरका अवैध चोरी पैठारीका सामान बरामद गरेको जनाएको थियो। तर, शिव पार्वती ट्रेडर्सका सञ्चालक साहले आफ्नो गोदामबाट ७५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान लगिएको दाबी गरेका छन्।