सुशासनदेखि रोजगारीसम्मका मुद्दा उठाउने ‘जन सरोकार अभियान’

Appan News
२०८३ असोज ६, मंगलवार १९:१७

अप्पन न्युज
जनकपुरधाम, असोज ६:  जनसरोकारका विषयलाई संस्थागत रूपमा उठान गर्दै सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि ‘जन सरोकार अभियान’ गठन गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार बिहान बसेको बैठकले ‘जन सरोकार अभियान (पब्लिक कन्सर्न इनिसिएटिभ)’ नामक संस्था दर्ता गर्ने निर्णय गरेको हो । सामाजिक अभियानी रघुवीर रायको अध्यक्षतामा बसेको बैठकले अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न जितेन्द्र महासेठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
तदर्थ समितिको उपाध्यक्षमा प्रशान्त झा, महासचिवमा कौशल्या कुशवाहा, कोषाध्यक्षमा अनिल कुमार चौधरी र सचिवमा राजेश कुमार शर्मा चयन भएका छन् । कार्यकारिणी सदस्यमा शत्रुघन मुखिया, निरञ्जन कुमार यादव, गोविन्द कुमार मण्डल र रूपा लामा रहेका छन् ।
अभियानको वरिष्ठ सल्लाहकारमा रघुवीर राय तथा सल्लाहकारमा कृष्णदेव साह, शंकरप्रसाद साह, परमेश्वर साह, शम्भुनाथ झा, कमलेश मण्डल, प्रमोद साह, सुरेन्द्र दास, शत्रुधन साह, हरी मण्डल, दिनेश सिंह र राजु थापा रहेका छन् ।
अभियानले जनअधिकारको संरक्षण, सुशासन तथा पारदर्शिता, शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच, वातावरण संरक्षण, सरसफाइ, लागूपदार्थविरुद्ध जनचेतना, विपद् तथा राहत सहयोगजस्ता विषयमा काम गर्ने जनाएको छ ।
त्यस्तै, महिला तथा बालबालिकाको अधिकार, युवा सहभागिता, सामाजिक न्याय, डिजिटलीकरण, रोजगारी तथा उद्यमशीलता प्रवद्र्धनलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा आवाज उठाउने र आवश्यक पहल गर्ने अभियानको उद्देश्य रहेको जनाइएको छ ।
विशेषगरी जनकपुरधामसहित आसपासका क्षेत्रलाई व्यवस्थित, स्वच्छ, सुरक्षित, समावेशी र समृद्ध बनाउन नागरिक, समुदाय, निजी क्षेत्र तथा सम्बन्धित सरकारी निकायबीच सहकार्यको वातावरण निर्माण गर्ने अभियानले जनाएको छ ।
अभियानमार्फत विभिन्न सामाजिक तथा जनसरोकारका विषयमा सकारात्मक परिवर्तनका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । समस्या पहिचानदेखि समाधानका लागि पहल गर्नेसम्म जनताको साथमा रहेर काम गर्ने अभियानको प्रतिबद्धता छ ।