समावेशी शिक्षालाई व्यवहारमै प्रभावकारी बनाउनुपर्नेमा जोड

Appan News
२०८३ असोज ७, बुधबार २१:०४

अप्पन न्युज
जनकपुरधाम, असोज ७ :
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले प्रदेशस्तरीय सिकाइ आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
युरोपेली युनियनको सहयोग तथा पिपुल इन निड, नेपाल अपाङ्ग महिला संघ र एकाउन्टेबिलिटी ल्याबको साझेदारी तथा सहकार्यमा सञ्चालित ‘पहुँच परियोजना’अन्तर्गत बुधबार जनकपुरधाममा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा अपाङ्गता भएका बालबालिका, सीमान्तकृत समुदाय तथा शिक्षामा पछाडि पारिएका बालबालिकाको पहुँच, सहभागिता र सिकाइ सुनिश्चित गर्न समावेशी शिक्षालाई व्यवहारमै प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिव कमलेश मण्डलका अनुसार सप्तरी, धनुषा र सिरहाका नौ पालिकामा सञ्चालित पहुँच परियोजनामार्फत समावेशी शिक्षासम्बन्धी सरकारले बनाएका नीति तथा व्यवस्था कार्यान्वयनको अवस्थाबारे वकालत हुँदै आएको छ।
परियोजनाअन्तर्गत भएका प्रयास, अनुभव तथा सिकाइ आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए। उनका अनुसार कार्यक्रममा आगामी दिनमा समावेशी शिक्षाका क्षेत्रमा गर्न सकिने काम तथा सरकारले लिनुपर्ने पहललगायत विषयमा प्यानल डिस्कसन र अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा स्थानीय तथा प्रदेश तहमा समावेशी शिक्षाका क्षेत्रमा भएका सफल प्रयास, नवीन अभ्यास, अनुभव तथा सिकाइबारे छलफल गरिएको थियो।
कार्यक्रममा शिक्षाविद् रघुवीर राय, एनजीओ फेडरेसनका नागेन्द्र दुबे, पिपुल इन निडका सुशील साह, शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।