अप्पन न्युज
जनकपुरधाम, असोज ८ :
गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समितिले विभिन्न माग राख्दै शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएको छ।
गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गर्ने गरी सरकारले अघि बढाउन लागेको कदमको विरोधमा प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ।
समितिका अध्यक्ष सन्तोष साहका अनुसार प्रदर्शनका क्रममा जनकपुरधाममा नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
साहले आफूहरू गुठीको जग्गामा नभई कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आए पनि विभिन्न प्रक्रियामार्फत जग्गाबाट विस्थापित हुने अवस्था सिर्जना भएको बताए। त्यसको विरोधमा आन्दोलन गर्नुपरेको उनको भनाइ छ।
समितिले कुटीको जग्गामा बसोबास गर्दै आएका परिवारको जग्गा रैतान नम्बरी कायम गरी स्वामित्वको अधिकार दिनुपर्ने माग गरेको छ। तत्काल जग्गा खाली गराउने वा उठिवास गराउने अवस्था सिर्जना नगरी सम्बन्धित परिवारको उचित बास व्यवस्थापन गर्नुपर्ने माग पनि समितिको छ।
अध्यक्ष साहले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताए।
शुक्रबारको प्रदर्शनमा जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा गुठी तथा कुटीको जग्गामा बसोबास गर्दै आएका परिवार तथा प्रभावित व्यक्तिहरूको सहभागिता रहने समितिले जनाएको छ।
गुठी–कुटी जग्गा व्यवस्थापनको माग गर्दै जनकपुरधाममा शुक्रबार प्रदर्शन



तपाईको प्रतिक्रिया !