अप्पन न्युज
जनकपुरधाम, असोज ९ : गुठी–कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समिति धनुषाले गुठी तथा कुटीको जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गर्ने गरी घरटहरा हटाउने सूचना र प्रक्रिया रोक्न माग गरेको छ ।
समितिले शुक्रबार जनकपुरधाममा नगर परिक्रमा गर्दै गुठीसम्बन्धी समस्याको दीर्घकालीन समाधानको मागसहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा गुठी तथा धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाविरुद्ध नाराबाजी गर्दै समितिले जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका र गुठी कार्यालय जनकपुरधाममा पुगेर ज्ञापनपत्र बुझाएको छ ।
समितिका अनुसार गुठी संस्थान केन्द्रीय कार्यालयको २०८२ जेठ २२ गतेको निर्णय तथा त्यसअनुसार धनुषामा गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा ऐतिहासिक पोखरी, मठमन्दिर, पाटीपौवा तथा गुठी तैनाथी जग्गाको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ । सोही क्रममा गुठी तथा कुटीका जग्गामा बनेका घरटहरा हटाउने सूचना सार्वजनिक भएपछि हजारौँ परिवारमा विस्थापनको त्रास फैलिएको समितिको भनाइ छ ।
समितिले २०६८ साल तथा त्यसअघि देखिनै जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा गुठीसम्बन्धी समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउँदै आएको जनाएको छ । त्यसक्रममा गुठी संस्थान, नापी तथा मालपोत कार्यालयका संयुक्त टोलीले स्थलगत निरीक्षण गरी विभिन्न प्रकारका जग्गाको नाप–नक्सा प्रमाणीकरणसमेत गरिसकेको समितिको दाबी छ ।
दशकौँदेखि बसोबास गर्दै आएका परिवारलाई उठीवास गराउने गरी गुठीको जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइएको भन्दै समितिले त्यसलाई रोक्न माग गरेको छ । समितिका सचिव वचनदेव मण्डलले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्न बाध्य हुने बताए ।
ज्ञापनपत्रमा गुठी संस्थान ऐन, २०३३ को दफा २५ ले २०४६ चैत २६ गतेभन्दा अगाडि घर निर्माण भइसकेका जग्गालाई रैतान नम्बरीमा परिणत गर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ । दशकौँदेखि भोगचलन गर्दै आएका परिवारलाई विस्थापित गर्न नहुने समितिको माग छ ।
समितिले जानकी मन्दिर, मटिहानी मठ, विरख कुटी, रत्नसागर, बेला कुटी, रजौलको लक्ष्मण मन्दिर गुठी र कुवा मठलगायतका क्षेत्रमा संरचना हटाउने गरी अघि बढाइएको प्रक्रियाले वर्षौंदेखि व्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवार प्रभावित हुने जनाएको छ ।
गुठीको जग्गामा घरटहरा हटाउने प्रक्रिया रोक्न माग गर्दै प्रदर्शनपछि ज्ञापन



तपाईको प्रतिक्रिया !