मधेसमा ‘हुंकार मधेस’ नामको नयाँ राजनीतिक अभियान घोषणा

Appan News
२०८३ असोज ९, शुक्रबार २०:३९

अप्पन न्युज
जनकपुरधाम, असोज ९ :
मधेसमा ‘हुंकार मधेस’ नामको नयाँ राजनीतिक अभियान औपचारिक रूपमा घोषणा गरिएको छ। अभियानले अवधारणापत्र र केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गर्दै राजनीतिक यात्रा सुरु गरेको जनाएको छ।
मधेसका राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक मुद्दालाई केन्द्रमा राखेको अभियानले युवा नेतृत्व, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ।
अभियानले मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, महिला तथा अल्पसंख्यक समुदायको पहिचान र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सामाजिक न्याय तथा विगतका आन्दोलनका उपलब्धिको संरक्षणका लागि संघर्ष गर्ने जनाएको अभियानले संविधान संशोधन तथा परिमार्जनको आवश्यकतासमेत औँल्याएको छ।
‘हुंकार मधेस’ले आफूलाई सामाजिक अभियानमा सीमित नराखी वैचारिक पुनर्निर्माण, सभ्यतागत पुनर्जागरण र सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि बढाउने जनाएको छ।