अप्पन न्युज
जनकपुरधाम, असोज १० :
जनकपुरधाममा आगामी दशैँ पर्वलाई व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्ने विषयमा सर्वपक्षीय छलफल गरिएको छ। श्री महावीर युवा कमिटी र श्री राम युवा कमिटीको संयुक्त आयोजनामा भएको छलफलमा दशैँका अवसरमा हुने पूजाआजा तथा बोकावली व्यवस्थापन, श्रद्धालुको भीड नियन्त्रण, सुरक्षा, दर्शन तथा पूजाको सहज व्यवस्था र सरसफाइलगायत विषयमा छलफल गरिएको हो।
राजदेवी मन्दिरमा दशैँका बेला पूजाआजा तथा बोकावलीका लागि ठूलो संख्यामा श्रद्धालु आउने भएकाले भीड व्यवस्थापन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए। धार्मिक आस्था र परम्परालाई कायम राख्दै श्रद्धालुलाई सहज र सुरक्षित रूपमा पूजा गर्ने वातावरण बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए।

दशैँ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारीसहित अघि बढ्ने प्रतिबद्धता पनि लुइँटेलले व्यक्त गरे।
छलफलमा भोटेकोशी बाढीपछि मुलुकको आर्थिक अवस्था प्रभावित भएको विषयसमेत उठाइएको थियो। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले आर्थिक अवस्था कमजोर भएका बेला पनि दशैँ पूजा व्यवस्थापनका लागि सरकारी स्तरबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
श्री राम युवा कमिटीका अध्यक्ष विजय कुमार साह र
श्री महावीर युवा कमिटीका अध्यक्ष दीपक कुमार साहको अध्यक्षतामा भएको छलफलमा स्थानीयवासी, युवा कमिटीका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा र अन्य सरोकारवालाको सहभागिता थियो।
सहभागीले दशैँका क्रममा जनकपुरधाममा हुने धार्मिक गतिविधिका कारण उत्पन्न हुन सक्ने भीड तथा अन्य व्यवस्थापकीय चुनौतीलाई समयमै पहिचान गरी आवश्यक तयारी र समन्वय गर्नुपर्ने धारणा राखेका थिए।



तपाईको प्रतिक्रिया !