अप्पन न्युज
जनकपुरधाम, असोज १४ :
महोत्तरीको भंगहा नगरपालिकाका विभिन्न स्थानमा सुरक्षित खाद्य तथा तरकारी उत्पादनसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, दलित समाज उत्थान समिति नेपालको सहजीकरण तथा भंगहा नगरपालिकाको समन्वयमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत नगरपालिकाका पाँच स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो।
सडक नाटकमार्फत तरकारी उत्पादनमा जथाभावी विषादी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने असरबारे किसान तथा उपभोक्तालाई जानकारी गराइएको थियो। विषादीयुक्त तरकारीको नियमित सेवनबाट स्वास्थ्यमा पर्न सक्ने असर, तरकारीमा विषादीको अवशेष रहने जोखिम तथा सुरक्षित खाद्य उत्पादनको आवश्यकताबारे स्थानीयलाई सचेत गराइएको थियो।
कार्यक्रममा किसानलाई प्राकृतिक तथा विषादीरहित तरकारी खेतीतर्फ प्रोत्साहित गर्दै रासायनिक विषादीको प्रयोग घटाउन आग्रह गरिएको थियो। प्राकृतिक विधिबाट तरकारी उत्पादन गर्दा माटोको उर्वराशक्ति कायम राख्न, वातावरण संरक्षण गर्न र उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउन सहयोग पुग्नेबारे जानकारी दिइएको थियो।
स्थानीयस्तरमा सहज रूपमा बुझिने शैलीमा प्रस्तुत गरिएको सडक नाटकले सुरक्षित तरकारी उत्पादन तथा उपभोगका विषयमा किसान र उपभोक्तालाई सचेत बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत किसानलाई उत्पादनमा सुरक्षित विधि अपनाउन तथा उपभोक्तालाई तरकारी खरिद र उपभोग गर्दा सुरक्षित खाद्य वस्तुको प्रयोगमा ध्यान दिन आग्रह गरिएको थियो।
भंगहामा सुरक्षित तरकारी उत्पादनबारे सडक नाटक



तपाईको प्रतिक्रिया !