संस्थागत विद्यालयका एसईई उत्तीर्ण विद्यार्थीलाई सरकारी छात्रवृत्तिमा विभेद नगर्न माग

Appan News
२०८३ असोज १५, बिहीबार २०:११

अप्पन न्युज
जनकपुरधाम, असोज १५ :
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रदान गरिने सरकारी छात्रवृत्तिमा विभेद नगर्न मधेश प्रदेश सरकारसँग माग गरेको छ ।
एनप्याब्सन मधेशका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहाको नेतृत्वमा गएको शिक्षकहरूको टोलीले शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहलाई ध्यानाकर्षणपत्र बुझाउँदै संस्थागत विद्यालयका समस्या समाधान तथा छात्रवृत्तिसम्बन्धी नीतिगत सुधारको माग गरेको हो ।
एनप्याब्सनका अनुसार संस्थागत विद्यालयहरूले विद्यालय तहमा कुल विद्यार्थी संख्याको १० प्रतिशत गरिब, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् । तर, संस्थागत विद्यालयबाट कक्षा १० (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई उच्च शिक्षाका लागि सरकारी छात्रवृत्तिमा आवेदन दिनबाट वञ्चित गर्ने व्यवस्था रहेको भन्दै त्यसलाई पुनरावलोकन गर्न एसोसिएसनले माग गरेको छ ।
छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीले अध्ययन गरेको विद्यालय सरकारी वा संस्थागत भन्ने आधार बनाउनुभन्दा शैक्षिक योग्यता, आर्थिक तथा सामाजिक अवस्था र अध्ययन गर्न चाहेको विषयलाई आधार बनाउनुपर्ने एनप्याब्सनको भनाइ छ ।
ध्यानाकर्षणपत्रमा विद्यार्थीको आवश्यकता र योग्यताका आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै विद्यालयको प्रकृतिका आधारमा अवसरबाट वञ्चित गर्ने व्यवस्था हटाउन माग गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिंहले सम्बन्धित सबै पक्षसँग समन्वय गरी संस्थागत विद्यालयका प्रतिनिधिले उठाएका विषय सम्बोधनका लागि पहल गर्ने बताएका छन् ।
एनप्याब्सनले मुलुकभर १० हजारभन्दा बढी संस्थागत विद्यालय सञ्चालनमा रहेको उल्लेख गर्दै विशेषगरी मधेश प्रदेशका दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयले भोग्दै आएका समस्याको समाधानका लागि आवश्यक नीतिगत पहल गर्न पनि मन्त्री सिंहसमक्ष माग गरेको छ ।