भंगहामा शैक्षिक मेला, ५ हजारभन्दा बढी विद्यार्थी सहभागी

Appan News
२०८३ असोज १६, शुक्रबार २०:२६

अप्पन न्युज
जनकपुरधाम, असोज १६ :
महोत्तरीको भंगहा नगरपालिकामा प्रथम नगरस्तरीय शैक्षिक मेला सम्पन्न भएको छ ।
विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा सीप उजागर गर्ने उद्देश्यले भंगहा नगरपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा दलित समाज उत्थान समिति नेपालको आयोजनामा शैक्षिक मेला आयोजना गरिएको हो ।
मेलामा भंगहा नगरपालिकाका १४ विद्यालयका विद्यार्थीहरूले स्थानीय तथा रैथाने वस्तुबाट तयार पारिएका विभिन्न सामग्रीको प्रदर्शनी गर्नुका साथै कला, संस्कृति र प्राविधिक सीप प्रस्तुत गरेका थिए । स्थानीय स्तरमा उपलब्ध वस्तु तथा सामग्रीको प्रयोग गरी तयार पारिएका सिर्जनात्मक सामग्रीसमेत मेलामा प्रदर्शन गरिएको थियो ।
आयोजकका अनुसार मेलामा १४ विद्यालयका ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक गतिविधि तथा आफूले सिकेका विषयसँग सम्बन्धित सामग्री प्रस्तुत गरेका थिए ।
भंगहा नगरपालिकाका नगरप्रमुख संजीवकुमार साहले शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो सीप र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताए । यस्ता गतिविधिले विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै उनीहरूको क्षमता पहिचान र विकासमा सहयोग पुग्ने उनले बताए ।
शैक्षिक सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित राख्न नहुने बताउँदै नगरप्रमुख साहले विद्यार्थीले आफूले सिकेका विषयलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुपर्नेमा जोड दिए । विद्यार्थीको रुचि, क्षमता र सिर्जनशीलता विकासका लागि नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर पाख्रिनले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित नहुने बताए । कक्षाकोठाबाहिर पनि आफूले सिकेका कुरा प्रस्तुत गर्ने र क्षमता प्रदर्शन गर्ने अवसर आवश्यक रहेकाले शैक्षिक मेला आयोजना गरिएको उनले बताए ।
यस्ता गतिविधिले विद्यार्थीमा उत्साह बढाउनुका साथै सिकाइप्रति रुचि विकास गर्न सहयोग पुग्ने पाख्रिनले बताए । आफूले जानेका तथा सिकेका विषयलाई व्यवहारमा प्रस्तुत गर्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने उनको भनाइ थियो ।
मेलामा स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न प्राविधिक सामग्री तथा विद्यार्थीले तयार पारेका सिर्जनात्मक सामग्री प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा भंगहा नगरपालिकाका उपप्रमुख, शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्व, नगरपालिकाका कर्मचारी तथा विभिन्न विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
आयोजकले नगरस्तरीय शैक्षिक मेलामार्फत विद्यार्थीलाई प्रतिभा, सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयबीच सिकाइ तथा अनुभव आदानप्रदानको वातावरण निर्माण गर्ने उद्देश्य रहेको जनाएको छ ।