विशेष महाधिवेशनले कांग्रेस विभाजित गर्‍यो : निधि

Appan News
२०८३ असोज २१, बुधबार २१:५५

अप्पन न्युज
जनकपुरधाम, असोज २१ :

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनमार्फत पार्टीलाई विभाजित गर्ने काम भएको आरोप लगाएका छन् ।
कांग्रेसको इतर पक्षको जनकपुरधाम नगर सभालाई सम्बोधन गर्दै निधिले विशेष महाधिवेशन भएको दिनदेखि नै पार्टी व्यवहारिक रूपमा दुई भागमा विभाजित भएको दाबी गरे । कानुनी प्रक्रिया बाँकी रहे पनि पार्टी विभाजित भइसकेको भन्दै उनले नेता–कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे ।
गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूले पार्टीको निर्धारित प्रक्रिया पूरा नगरी विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाउँदै निधिले त्यसले वैधानिकता पाउन नसक्ने दाबी गरे । आफूहरू नै मूल कांग्रेस भएको दाबी गर्दै उनले पार्टी संगठनलाई वडा तहसम्म सक्रिय बनाएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्व परिवर्तनलाई लिएर विवाद जारी रहेका बेला निधिको यस्तो भनाइ आएको हो ।