जानकी आँखा अस्पतालको सेवा र व्यवस्थापन सुधार्न सांसद मनिष झाको जोड

Appan News
२०८३ कार्तिक ८, शनिबार १९:५२

अप्पन न्युज
जनकपुरधाम, कात्तिक ७ :
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको निरीक्षण गर्दै सेवा प्रवाह र व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका छन् ।
अस्पतालको नेतृत्व परिवर्तनपछि त्यहाँको अवस्था बुझ्न पुगेका झाले जनकपुरधामको समग्र विकासका लागि स्थानीय संस्थाहरूको विकास र सुदृढीकरण आवश्यक रहेको बताए । उनले जानकी आँखा अस्पताललाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउँदै जनकपुरधामको विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।
आफ्नै भौतिक संरचना हुँदाहुँदै पनि दलगत राजनीतिको प्रभावका कारण अस्पतालको अवस्था बिग्रिएको भन्दै झाले चिन्ता व्यक्त गरे । अस्पताललाई व्यक्तिगत आम्दानीको माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाउँदै उनले सकारात्मक परिवर्तनका लागि नेतृत्व परिवर्तन गरिएको दाबी गरे ।
झाका अनुसार रास्वपा नेतृत्वको सरकारले अस्पतालको भौतिक संरचनालाई सफा र व्यवस्थित बनाउने, दक्ष जनशक्ति थप्ने, कर्मचारीको अनुपात मिलाउने तथा अस्पताल र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने योजना अघि बढाउनेछ ।
अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले काम भइरहेको उल्लेख गर्दै उनले आगामी छ महिनाभित्र देखिने गरी परिवर्तन ल्याउने लक्ष्य रहेको बताए ।
जानकी आँखा अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउँदै गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
निरीक्षणका क्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज महतो, जानकी आँखा अस्पतालका संयोजक रघुवीर राय, निर्देशक डा. अमित यादव तथा रास्वपा नेता जितेन्द्र महासेठलगायतको उपस्थिति थियो ।