शिक्षा–स्वास्थ्यको अधिकार प्रदेशमा ल्याउन सभामुख यादवको जोड

Appan News
२०८३ असोज ५, सोमबार १९:०९

अप्पन न्युज
जनकपुरधाम, असोज ५:
मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले शिक्षा, स्वास्थ्य र कृषिजस्ता महत्वपूर्ण विषयमा प्रदेश सरकारको अधिकार स्पष्ट र प्रभावकारी बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा मधेश प्रदेशसभाले आयोजना गरेको युवामाझ संसदीय प्रणाली र लोकतन्त्रबारे जानकारी तथा बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सभामुख यादवले संविधानले आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि प्रदेश सरकारको प्रत्यक्ष भूमिका सीमित भएको बताए ।

उनले संविधानको अनुसूची–८ मा आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकारमा राखिएको उल्लेख गर्दै स्थानीय तहको राजनीतिक तथा प्रशासनिक संरचनाका कारण शिक्षाको आधारभूत तह अपेक्षाकृत कमजोर रहेको तर्क गरे ।

प्रदेश सरकारको लगानीसमेत कतिपय अवस्थामा संयुक्त राष्ट्रसंघीय निकाय, सेभ द चिल्ड्रेन र युनिसेफजस्ता दातृ निकायले गरिरहेका कामसँग सीमित हुन पुगेको उनले बताए ।

शिक्षा, स्वास्थ्य र कृषिको जिम्मेवारी प्रदेश सरकार मातहत स्पष्ट रूपमा आएमा प्रदेश सरकारको औचित्य र भूमिका थप प्रभावकारी हुने सभामुख यादवको भनाइ थियो ।

कार्यक्रममा ‘संसदीय पहुँच प्रवद्र्धन तथा सार्वजनिक सुनुवाई परियोजना’अन्तर्गत ‘युवा केन्द्रित संसदीय पहुँच प्रवद्र्धन’ कार्यक्रमको उद्देश्यबारे युएनडीपी संसद सहयोग परियोजनाका संसदीय अधिकारी बिटुबाबु श्रीवास्तवले जानकारी दिए ।

पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डलका अनुसार कार्यक्रममा युवाहरूलाई संसदीय प्रणाली, लोकतान्त्रिक अभ्यास, प्रदेशसभा तथा यसको कामकारबाहीका विषयमा जानकारी गराइएको थियो ।

युवाहरूलाई संसदीय अभ्याससँग जोड्दै लोकतान्त्रिक प्रक्रियाप्रति उनीहरूको बुझाइ र सहभागिता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।