रास्वपाको मधेस विवादबारे अडिट समितिले बुझायो प्रारम्भिक प्रतिवेदन

Appan News
२०८३ असोज ५, सोमबार २३:१५

काठमाडौं, असोज ५ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशमा देखिएको संगठनात्मक विवादबारे छानबिन गर्न गठित अडिट समितिले प्रारम्भिक प्रतिवेदन पार्टी सचिवालयमा बुझाएको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकमा अडिट समितिका संयोजक तथा सहमहामन्त्री हरि ढकालले मधेस प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादनसम्बन्धी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रवक्ता जगदीश खरेलका अनुसार समितिले विस्तृत प्रतिवेदन भने आगामी बैठकमा पेस गर्नेछ।
मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्रै अधिवेशन सम्पन्न भएको छ। बाँकी सात जिल्लामा आन्तरिक विवादलगायतका कारण अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन। यही विषयमा अध्ययन गर्न रास्वपाको केन्द्रीय समिति बैठकले भदौ ५ गते सहमहामन्त्री ढकालको संयोजकत्वमा मधेस प्रदेश संगठन अडिट समिति गठन गरेको थियो।
समितिमा सुरेन्द्र चौधरी, अशोककुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवाल सदस्य रहेका छन्। समितिले मधेसका विभिन्न जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग छलफल गर्दै संगठनको अवस्था र अधिवेशन रोकिनुका कारणबारे अध्ययन गरेको थियो।
प्रारम्भिक अध्ययनका क्रममा मधेसमा संघीय सांसद तथा केन्द्रीय सदस्यहरूबीचको आन्तरिक प्रतिस्पर्धा, संगठनभित्रको विवाद तथा जातीय र क्षेत्रीय ध्रुवीकरणलगायतका विषय उठेको पार्टी स्रोतले जनाएको छ। प्रदेश र जिल्ला संगठनको काममा संघीय सांसदहरूबाट हस्तक्षेप भएको गुनासोसमेत समितिसमक्ष पुगेको बताइएको छ।
अधिवेशन प्रक्रिया अघि बढाउन अहिलेको सांगठनिक अवस्था सहज नरहेको र आवश्यक निर्णयका लागि पार्टी नेतृत्वको भूमिका आवश्यक रहेको प्रारम्भिक निष्कर्ष रहेको स्रोतको भनाइ छ। यद्यपि, अडिट समितिको पूर्ण प्रतिवेदन आएपछि मात्रै मधेसको वास्तविक अवस्था र आगामी कदमबारे स्पष्ट निर्णय हुने पार्टीले जनाएको छ।
सचिवालय बैठकले विस्तृत प्रतिवेदन प्राप्त भएपछि मधेस प्रदेशको सांगठनिक अवस्था र कार्यसम्पादन अडिटबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक रणनीतिक कदम अघि बढाउने निर्णय गरेको छ।
रास्वपाको प्रथम महाधिवेशन असारमा चितवनमा सम्पन्न भए पनि मधेसका सात जिल्लामा अधिवेशन हुन सकेको छैन। यसअघि पार्टीले मधेसको अधिवेशनसम्बन्धी गतिविधि स्थगित गरेको थियो। पछिल्लो समय विवाद समाधान गरी बाँकी जिल्लाको अधिवेशन अघि बढाउने तयारीस्वरूप अडिट समिति परिचालन गरिएको हो।
पार्टी सभापति रवि लामिछानेले पनि मधेसको सांगठनिक समस्या समाधानका लागि आवश्यक पहल गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ। विस्तृत अडिट प्रतिवेदन आएपछि मात्रै अधिवेशनको नयाँ प्रक्रिया र समयतालिकाबारे निर्णय हुने बताइएको छ।