युवामाझ संसदीय प्रणाली र लोकतन्त्रबारे अन्तरक्रिया

Appan News
२०८३ असोज ६, मंगलवार १२:१२

जनकपुरधाम ।
मधेश प्रदेश सभाको आयोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोग तथा पिपल प्रोमोट सेन्टर (पीपीसी) धनुषाको समन्वयमा ‘युवा केन्द्रित संसदीय पहुँच प्रवद्र्धन’ कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधामस्थित विश्वविद्यालय क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कलेज तहमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
युवा विद्यार्थीलाई संसदीय प्रणाली, लोकतन्त्र तथा सार्वजनिक नीति निर्माण प्रक्रियाबारे व्यावहारिक जानकारी र अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पिपल प्रोमोट सेन्टर धनुषाका अध्यक्ष कमलेश मण्डलले गरेका थिए ।
कार्यक्रममा यूएनडीपी संसदीय सहयोग परियोजना जनकपुरका प्रमुख बिटु श्रीवास्तवले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै युवालाई संसदीय अभ्याससँग जोड्नुको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा सहभागी विद्यार्थीहरूले संसदीय अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा सार्वजनिक सरोकारका विभिन्न विषयमा आफ्ना विचार, अनुभव र जिज्ञासा राखेका थिए । विद्यार्थीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बोधन सभामुख यादवले गरेका थिए ।
कार्यक्रममा युवाको संसदीय प्रणालीप्रतिको बुझाइ बढाउने, लोकतान्त्रिक प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि प्रोत्साहित गर्ने तथा सार्वजनिक नीति निर्माण प्रक्रियासँग उनीहरूको सम्बन्ध स्थापित गर्ने विषयमा छलफल भएको थियो ।
आयोजक पक्षले युवालाई लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासमा अर्थपूर्ण रूपमा सहभागी गराउन यस्ता कार्यक्रमले योगदान पुग्ने जनाएको छ ।