अप्पन न्युज
जनकपुरधाम, असोज ८ :
मधेश प्रदेश सरकारले सीमा सुरक्षा, शान्ति सुरक्षा तथा नियमित गस्तीलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल उपलब्ध गराएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो तथा ब्लुबुक हस्तान्तरण गरेका हुन्।
सीमावर्ती तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकायको नियमित उपस्थिति, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन मोटरसाइकल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। विशेषगरी खुला सीमा क्षेत्रमा हुने नियमित गस्ती तथा सुरक्षा व्यवस्थापनमा यसले सहजता ल्याउने अपेक्षा गरिएको छ।
भारतसँग लामो खुला सीमा जोडिएको मधेश प्रदेशमा सीमा सुरक्षा तथा नियमित गस्ती चुनौतीपूर्ण रहँदै आएको भन्दै मन्त्रालयले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने योजनाअन्तर्गत मोटरसाइकल हस्तान्तरण गरिएको जनाएको छ।

मन्त्री महतोका अनुसार प्रदेश सरकारले सुरक्षा निकायका लागि थप सवारीसाधन उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। आवश्यकताका आधारमा थप १० थान मोटरसाइकल उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।
प्रदेशको शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन सम्पन्न बनाउनु सरकारको प्राथमिकतामा रहेको मन्त्री महतोले बताए। पर्याप्त साधन उपलब्ध हुँदा नियमित गस्ती, सीमा निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन गर्न सहज हुने उनको भनाइ थियो।
यसअघि बुधबार मात्रै मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको थियो।



तपाईको प्रतिक्रिया !