अप्पन न्युज
जनकपुरधाम, असोज ८ :
मधेश प्रदेशभित्र सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनका फाइल सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई हस्तान्तरण गरेको छ।
काठमाडौंस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा महानिर्देशक अनुप दाहालले प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गालाई सम्बन्धित फाइल हस्तान्तरण गरेका हुन्।
फाइल हस्तान्तरणसँगै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका काम अब जनकपुरधामस्थित प्राधिकरणको कार्यालयबाटै हुने भएको छ। अध्यक्ष खड्गाले यसबाट सञ्चार संस्था सञ्चालकलाई सामान्य कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए।
नेपालको संविधान तथा मधेश प्रदेश सञ्चार ऐनले रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रदेशबाटै गर्ने व्यवस्था गरे पनि विगत सात वर्षदेखि सम्बन्धित फाइल केन्द्रमै रहेका कारण प्रदेशबाट सेवा प्रवाह हुन सकेको थिएन।
फाइल प्रदेशमा आएसँगै दर्ता तथा नवीकरणबाट प्राप्त हुने राजस्वसमेत मधेश प्रदेशमै संकलन हुने अध्यक्ष खड्गाले बताए। उनले फाइल हस्तान्तरणलाई संविधानप्रदत्त अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।
मधेशका एफएम र टेलिभिजनका फाइल प्रदेशमा हस्तान्तरण



तपाईको प्रतिक्रिया !