आजदेखि सोह्र श्राद्ध सुरु, गंगासागरमा तर्पण गर्न श्रद्धालुको भीड

Appan News
२०८३ असोज १०, शनिबार १९:२२

अप्पन न्युज
जनकपुरधाम, असोज १० :
वैदिक सनातन हिन्दू परम्पराअनुसार आज शनिबारदेखि सोह्र श्राद्ध अर्थात् पितृपक्ष सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म चल्ने यस अवधिमा दिवंगत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने धार्मिक परम्परा छ।
पितृपक्ष सुरु भएसँगै जनकपुरधामको ऐतिहासिक गंगासागरमा तर्पण गर्न श्रद्धालु पुग्न थालेका छन्। पितृप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै उनीहरूको आत्माको शान्तिको कामना गर्ने धार्मिक विश्वासका साथ गंगासागरलगायत विभिन्न पोखरी तथा धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्ने गरिन्छ।


मिथिलामा दशैँ, दीपावली तथा छठजस्ता प्रमुख पर्वअघि दिवंगत पितृलाई स्मरण गर्ने परम्परा रहँदै आएको छ। पितृको मृत्यु तिथिअनुसार श्राद्ध गरिने भएकाले आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मको अवधिलाई सोह्र श्राद्ध भनिन्छ।
सोह्र श्राद्धको पहिलो दिन ऋषिमुनिप्रति श्रद्धा प्रकट गर्दै तर्पण गर्ने परम्परालाई अगस्त्य तर्पण भनिन्छ। त्यसपछि दिवंगत पितृको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने गरिन्छ।