धनुषामा ब्राउन सुगरजस्तो पदार्थसहित युवक पक्राउ, प्रहरीले गर्‍यो हवाईफायर

Appan News
२०८३ असोज ११, आईतवार २१:३२

अप्पन न्युज
जनकपुरधाम, असोज ११ :
धनुषाको विदेह नगरपालिका ८ बफै डिहबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा स्थानीय अजय मण्डललाई पक्राउ गरेको हो । प्रहरीले मण्डलको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब २० दशमलव ३४ ग्राम पदार्थ बरामद गरेको जनाएको छ ।
लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले मण्डललाई नियन्त्रणमा लिन खोज्दा तनावको अवस्था सिर्जना भएको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाईफायर गरेको जनाएको छ ।
घटनाका क्रममा एक जना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डलमाथि लागुऔषधसम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।