अप्पन न्युज
जनकपुरधाम, असोज १२ :
विजयदशमीलाई लक्षित गर्दै जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार सञ्चालन हुने भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालन हुँदै आएको दशैँ बजार यस वर्ष घटस्थापनाभन्दा एक दिनअघि उद्घाटन गर्ने तयारी गरिएको छ।
दशैँ बजार सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार दशैँ बजारमा दैनिक उपभोग्य सामग्रीसँगै चाडपर्वका लागि आवश्यक विभिन्न सामान एउटै स्थानबाट सुपथ तथा सुलभ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिनेछ।
आर्थिक मन्दीका कारण व्यापारिक गतिविधि प्रभावित भइरहेको अवस्थामा दशैँ बजारले जनकपुरधामको बजारलाई चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए।
‘अहिले जनकपुरधामको बजार मात्र होइन, पूरै नेपाल आर्थिक मन्दीको अवस्थामा छ। यो दशैँ बजारबाट जनकपुरधामको बजार चलायमान बनाउन मद्दत पुग्नेमा विश्वस्त छु,’ उनले भने।
दशैँ बजारमा स्टल राख्ने व्यवसायीले आफ्ना सामानको मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने संघले जनाएको छ। मूल्यसूची राख्दा उपभोक्ताले सामानको मूल्यबारे स्पष्ट जानकारी पाउने र बजारलाई व्यवस्थित बनाउनसमेत सहयोग पुग्ने अध्यक्ष भण्डारीको भनाइ छ।
संघले यस वर्षको दशैँ बजारलाई विगतका वर्षभन्दा थप व्यवस्थित बनाउने तयारी गरेको छ। उपभोक्तालाई सहज हुने गरी आवश्यक सुविधा थप गर्ने तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिने संघले जनाएको छ।
यसअघि अष्टमीसम्म मात्र सञ्चालन हुँदै आएको दशैँ बजारलाई यस वर्ष भने विजयदशमीसम्म निरन्तरता दिने तयारी गरिएको छ। दशैँको समयमा हुने उपभोक्ताको चापलाई ध्यानमा राख्दै बजारमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने संघको तयारी छ।
जनकपुरधाममा घटस्थापना अघि नै दशैँ बजार सञ्चालन हुने



तपाईको प्रतिक्रिया !