लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न पत्रकार महासंघको माग

Appan News
२०८३ असोज १३, मंगलवार २०:३०

अप्पन न्युज
जनकपुरधाम, असोज १३ :
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार माध्यमका लागि विनियोजन गरिएको लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगरी पूर्ण रूपमा कार्यान्वयन गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेको छ ।
महासंघको प्रदेश समितिले मंगलबार मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्रमा आर्थिक संकट बढिरहेका बेला लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्दा सञ्चार माध्यम थप प्रभावित हुने जनाएको हो ।
महासंघले लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापनाका लागि भएका आन्दोलनदेखि सामाजिक रूपान्तरणसम्म सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ । पछिल्लो समय सरकारी विज्ञापनमा आएको कमी तथा सञ्चार माध्यमको आम्दानी घट्दै गएपछि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यम आर्थिक दबाबमा रहेको महासंघको भनाइ छ ।
मधेश प्रदेश सरकारले गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत आमसञ्चार प्राधिकरणमार्फत विगतदेखि सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ । रकम न्यून भए पनि आर्थिक संकटमा रहेका सञ्चार माध्यमका लागि उक्त विज्ञापन केही राहतको माध्यम बन्दै आएको महासंघले जनाएको छ ।
महासंघका अनुसार चालु आर्थिक वर्षमा लोककल्याणकारी विज्ञापनका लागि बजेट शीर्षक नम्बर २२५२२ मा ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, वित्तीय समायोजनका नाममा उक्त बजेटको ५० प्रतिशत रोक्का गरिएपछि ३५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकिने अवस्था आएको छ ।
महासंघले सञ्चार क्षेत्रको वर्तमान आर्थिक संकटलाई ध्यानमा राख्दै विनियोजित ७० लाख रुपैयाँ नै पूर्ण रूपमा कार्यान्वयन हुने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बजेट कटौतीले सञ्चार माध्यमको सञ्चालन तथा पत्रकारको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले विनियोजित रकम रोक्का नगर्न महासंघले आग्रह गरेको हो ।