जानकी आँखा अस्पतालको व्यवस्थापन सम्हाल्दै पंकज महतोले लिए पदभार

Appan News
२०८३ असोज १५, बिहीबार २३:३९

अप्पन न्युज
जनकपुरधाम, असोज १५
नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला तदर्थ समितिका सभापति पंकज कुमार महतोले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सम्हालेका छन् ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको अल्पकालीन व्यवस्थापनको जिम्मेवारी धनुषा जिल्ला तदर्थ समितिलाई दिएपछि महतोले बिहीबार पदभार ग्रहण गरेका हुन् ।
केन्द्रीय कार्यालयका महामन्त्री ऋषिरमण खनालले महतोलाई पत्र पठाउँदै अस्पतालको सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न अन्तरिम व्यवस्थाअनुसार जिम्मेवारी दिएका थिए ।
पदभार ग्रहण गर्दै महतोले अस्पतालको नियमित सेवा प्रवाहमा अवरोध आउन नदिने र बिरामीलाई सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउने बताए ।
केन्द्रीय कार्यालयले अस्पताल सञ्चालन गर्दा रेडक्रसका नीति, नियम तथा प्रचलित व्यवस्थाअनुसार काम गर्न र महत्वपूर्ण तथा संवेदनशील विषयमा केन्द्रीय कार्यालयसँग समन्वय गरेर निर्णय लिन निर्देशन दिएको छ ।