लक्ष्मीनियाँमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी वक्तृत्वकला प्रतियोगिता

Appan News
२०८३ असोज २२, बिहीबार २३:५२

अप्पन न्युज
जनकपुरधाम, असोज २२ :
लक्ष्मीनियाँ गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
लक्ष्मीनियाँ गाउँपालिकाको आयोजना तथा रतौली युवा क्लब, आफन्त नेपाल, लाइफ नेपाल र इन्सेकको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।
विद्यार्थीमा लैङ्गिक समानता, सम्मानजनक व्यवहार तथा हिंसाविरुद्धको चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका ६ वटा विद्यालयका १२ जना विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि परिवारदेखि नै समानता र सम्मानको संस्कार विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बालबालिका तथा युवालाई लैङ्गिक समानता र हिंसाविरुद्धको अभियानमा सक्रिय रूपमा सहभागी गराउनुपर्ने धारणा राखेका थिए।
प्रतियोगितामा लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा राधिका भण्डारी प्रथम, सोही विद्यालयका समिर राइन द्वितीय र बीपी कोइराला माध्यमिक विद्यालयकी अमना खातुन तृतीय भएकी छन्।

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपककुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरलगायतको उपस्थिति थियो।