राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा, झिझिया प्रतियोगितादेखि भजनसम्मका कार्यक्रम

Appan News
२०८३ असोज २४, शनिबार २१:१६

अप्पन न्युज
जनकपुरधाम, असोज २४ :
जनकपुरधामस्थित राम युवा कमिटीले यस वर्षको दसैं तथा दुर्गा पूजाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। कमिटीले बौधी माता र अमरखाना माइ मन्दिरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित दुर्गा पूजा आयोजना गर्ने भएको छ।
घटस्थापनाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी कमिटीले पूजाआजासँगै दसैंको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने कार्यक्रम सार्वजनिक गरेको हो।
कमिटीका अध्यक्ष विजयकुमार साहका अनुसार दसैंको द्वितीयादेखि षष्ठीसम्म प्रत्येक साँझ भजन कार्यक्रम आयोजना गरिनेछ। धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै श्रद्धालुलाई पूजाआजामा सहभागी गराउने उद्देश्यले भजन कार्यक्रम राखिएको उनले बताए।
त्यसैगरी, सप्तमीका दिन मिथिलाको मौलिक लोकसंस्कृतिको अभिन्न अंग झिझिया नृत्य प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिने अध्यक्ष साहले जानकारी दिए।
अष्टमीका दिन महावीर युवा कमिटीसँगको सहकार्यमा बोकाबलि कार्यक्रम आयोजना गरिनेछ। धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको कमिटीले जनाएको छ।
राम युवा कमिटीले विगत ३६ वर्षदेखि जनकपुरधामस्थित बौधी माता र अमरखाना माइ मन्दिरमा दुर्गा पूजाको आयोजना गर्दै आएको छ। लामो समयदेखि निरन्तर हुँदै आएको यस पूजाले स्थानीय धार्मिक आस्थाको प्रवर्द्धनसँगै मिथिलाको मौलिक सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ।