३१ वर्षपछि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको आफ्नै कार्यालय सञ्चालनमा

Appan News
२०८३ असोज २५, आईतवार १८:५६

अप्पन न्युज
जनकपुरधाम, असोज २५ :
स्थापना भएको ३१ वर्षपछि जनकपुरधाम सुनचाँदी व्यवसायी संघले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ । वि.सं. २०५२ मा स्थापना भएको संघले लामो समयपछि विधिवत् रूपमा कार्यालय सञ्चालनमा ल्याएको हो ।
संघका अध्यक्ष राजीवकुमार साहका अनुसार स्थापना कालदेखि नै संघको बैठक तथा छलफलका लागि कुनै व्यवसायीको पसलमा निर्भर हुनुपर्ने बाध्यता थियो । अध्यक्षमा निर्वाचित हुँदा व्यवसायीमाझ गरेको प्रतिबद्धताअनुसार कार्यालय सञ्चालनमा ल्याउन सफल भएको उनले बताए ।

कार्यालय सञ्चालनमा आएसँगै संघका नियमित बैठक, व्यवसायीबीच छलफल तथा संस्थागत गतिविधि सञ्चालन गर्न सहज हुने अध्यक्ष साहले विश्वास व्यक्त गरे । यसअघि बैठक तथा छलफलका लागि उपयुक्त स्थानको अभाव रहेकामा अब उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा संघका पूर्वअध्यक्षहरू पवनकुमार ठाकुर र अमरनाथ गुप्ता तथा सल्लाहकार मनिषरमण साह र शंकरप्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।